
काठमाडौं— वैशाख महिनादेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
पछिल्लो समय निरन्तर उच्च अंकले गिरावट आइरहेको नेप्से परिसूचक बुधवार ९२.२२ अंक बढेर १९६३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ ।
बुधबार कारोबारमा आएका २७६ कम्पनीको ६१ लाख ७ हजार कित्ता शेयर १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । मंगलबार ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक करिब ७ प्रतिशत बढेको छ भने लघुवित्त, बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन जलविद्युत् र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।
बुधवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएसँगै ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इक्विटी फन्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन, गणपति लघुवित्तलगायत कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बुधवार शिवम् सिमेन्ट्स कम्पनीको ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।













