काठमाडौं— आईसीसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा स्कटल्यान्डविरुद्ध २८४ रन जोडेको छ ।
पहिले ब्याटिङ गरेको खेलमा नेपाल ४९.२ ओभरमा २८४ रनमा अलआउट भयो। नेपालका लागि गुल्सन झाले शतक प्रहार गरे । उनले ११४ रन जोडेका हुन् ।
यस्तै दीपक बोहराले नटआउट ५८ रन जोडेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ । यसपटकको विश्वकपमा नेपालसहित १६ टीमले भाग लिँदैछन् । विश्वकपमा नेपाल समूह डी मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले विश्वकपमा पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै २४ जनवरीमा पाकिस्तान र २७ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ ।
नेपालले सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न लागेको हो । ८ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा नेपालले छनोटमा यूएईलाई स्तब्ध पारेको थियो ।













