News Griha :: न्यूजगृह
नयाँवर्षको छेकोमा फेवा किनारमा महोत्सव

पोखरा— नयाँवर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल संघ पोखराले आयोजना गरेको महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

कोभिड–१९ महामारी, आर्थिक संकटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

‘पर्यटक भित्र्याउन, संस्कृति देखाउन र स्थानीय खानाको स्वाद चखाउन महोत्सव आयोजना गरिएको हो’,उनले भने,‘पोखराको पर्यटन प्रवर्द्धनमा नववर्ष महोत्सवले महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको छ ।’

महोत्सवको मुख्य ‘थिम’ नै पर्यटन, संस्कृति र खाना रहेको छ । लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा १ वैशाखसम्म महोत्सव चल्नेछ । महोत्सवको अवसरमा पोखराका व्यवसायीले होटलमा २० प्रतिशत छुटको व्यवस्था गरेका छन् ।

महोत्सवले पर्यटकीय गतिविधि बढ्ने विश्वास आयोजकले लिएको छ । पछिल्लो समय पर्यटक आगमन घटेपछि व्यवसायी चिन्तित छन् । महोत्सव अवधिभभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १८:०५
Weather Update