
काठमाडौं— रियल मड्रिडलाई अतिरिक्त समयमा पराजित गर्दै एटलेटिको मड्रिडले कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो । अन्ततः ४–२ को जित निकाल्दै एटलेटिको मड्रिडले अन्तिम ८ मा स्थान पक्का गर्दा रियल मड्रिड भने प्रतियोगिताबाट बाहिरिएको छ ।
३९ औं मिनेटमा सामुएल लिनोले गोल गर्दै एटलेटिको मड्रिडलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा जान ओबलकले एटलेटिको मड्रिडकै पोस्टमा गोल गरेपछि उपहार गोलको मद्दतले रियलले खेल बराबरी गरेको थियो । ५७ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एटलेटिकोले अग्रता २–१ बनाउन सफल भयो । तर, ८२ औं मिनेटमा जोस लुइसले गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित समय २–२ को बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । जसमा १०० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एटलेटिकोलाई ३–२ ले अघि बढाएका थिए भने रोड्रिगोले ११९ औं मिनेटमा गोल गर्दै एटलेटिको मड्रिडलाई ४–२को जित दिलायो । यो जितसँगै कोपा डेल रेको अन्तिम ८ मा एटलेटिको मड्रिडले स्थान पक्का गरेको छ ।
कोपाको अन्तिम आठमा एटलेटिको मड्रिडसहित, बार्सिलोना, सेभिल्ला, एटलेटिको क्लब, मालोर्का, सेल्टाभिगो, रियल सोसिडाड र जिरोना पुगेका छन् ।













