
काठमाडौं— आईसीसी यू–१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाल र पाकिस्तानको युवा टिमबीच दुई महिनामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि गत मङ्सिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो ।
यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो तेस्रो प्रतिस्पर्धा हो । यसअघिका दुई प्रतिस्पर्धामा नेपालले एक खेलमा जित निकालेको थियो । सन् २००२ को यू–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । सो विश्वकपमा यो नतिजालाई प्रतियोगिताकै सनसनीपूर्ण मानिएको थियो ।
सन् २०१६ को विश्वकपमा भने पाकिस्तानले नेपाललाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।














