News Griha :: न्यूजगृह
आवश्यक मतभार नपुगेपछि वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुँदै

काठमाडौं— वरिष्ठ उपाध्यक्षका तीन उमेदवारले जितका लागि आवश्यक मत प्राप्त गर्न नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघको चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणको चुनावका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासीमध्ये एक रामचन्द्र संघई बाहिरिएका छन् । 

बुधबार भएको चुनावको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासीमध्ये अन्जन श्रेष्ठले ३८ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन कमिटीले जानकारी दिएको छ । नेपाल उद्योग वाणिज्य संघको विधानअनुसार निर्वाचित हुन वरिष्ठ उपाध्यक्ष उम्मेदवारले कुल मतमध्ये न्यूनतम ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । 

अब अन्जन र उमेशबीच बिहीबार दिउँसो २ देखि ५ बजेसम्म निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए । 

विधानअनुसार महासंघमा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्कोपटक स्वतः अध्यक्ष हुने प्रावधान छ । सोही प्रावधानअनुसार यो कार्यकालका लागि अघिल्लोपटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्र ढकाल महासंघको अध्यक्ष हुनेछन् । 

साथै जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् भने एसोसियट उपाध्क्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:३०
Weather Update