
काठमाडौं— इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित दर्ता गरेको हो ।
लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक–एक गोल गर्दा चेल्सीका लागि क्रिष्टोफोर नुक्नुले एक गोल फर्काए ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले २३ औं मिनेटमा अग्रता लिएको थियो । डिएगो जोटाले कोनोर ब्राडलेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
३९ औं मिनेटमा लुइस डियाजको पासमा कोनोरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरको लिभरपुलले दोस्रो हाफमा अरु २ गोल थप्दा १ गोल व्यहोरेको थियो । ६५ औं मिनेटमा डामोनिकले गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो ।
७१ औं मिनेटमा चेल्सीका क्रिष्टोफोर नुक्नुले कार्नीको पासमा गोल गर्दै अन्तर ३–१ मा झारेका थिए । तर, लुइस डियाजले ७९ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ को शानदार जित निकाल्न सफल भयो । जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अङ्कको अग्रता बनाएको छ ।
लिभरपुलले २२ खेलमा ५१ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।













