
काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावस्वरूप यतिबेला (आइतबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसोपख कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना छ भने बागमती प्रदेशसँगै देशका बाँकी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
आज राति पनि देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा राति पनि छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।