
काठमाडौंं— लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ ।
बिहीबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो । बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकले जलविद्युत् आयोजनाहरूको काम तत्काल अघि बढाउने निर्णय गरेको बताए ।
उनले तल्लो अरुण, अपर मस्र्याङ्दी, दुधकोशी २ लगायत जलविद्युत् आयोजनाहरूलाई अघि बढाउने निर्णय गरेको जानकारी दिए । उनले बैठकमा सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेको बारेमा पनि छलफल भएको बताए । उनले रसायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानी कर्ताहरूलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको बताए ।
अर्थमन्त्री महतले ठूला आयोजनालाई अघि बढाउने र आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा बैठकमा विशेष छलफल भएको बताए ।
लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री महतले इन्भेस्टमेन्ट समिट गर्ने बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिए । उनले स्वदेशी र विदेशी लगानीकर्ताले कुनै समस्या बिना चाँडो भन्दा चाँडो नेपालमा लगानी गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भन्नेकुरा बैठकमा छलफल भएको बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्न आवश्यक रहेको औँल्याएको मन्त्री महतले बताए ।













