
पोखरा— नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरेर लेकसाइडमा विगतजस्तै यसपटक पनि पोखरा होटल सङ्घले १८औँ फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ ।
सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ वर्षको आगमनसँगै पोखरा घुम्न आउने पर्यटकले रौनकता ल्याएको छ ।
‘अहिले पर्यटकीय सिजन हो, नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको आगमन पोखरा हुने गर्दछ, यसैलाई लक्षित गर्दै हामीले थप मनोरञ्जन दिन पर्यटकको पोखरा बसाइँलाई सम्झनलायक बनाउन महोत्सव पनि गर्दै आएका छौँ’, उनले भने ।
निःशुल्क रूपमा पर्यटकले लेकसाइडका सडकहरूमा सांस्कृतिक प्रस्तुति तथा पञ्चेबाजा, नाचगान, भजनचुड्का र गीतसङ्गीतका मनोरञ्जन पर्यटकले लिन पाउने उनको भनाइ छ ।
यही अवसरमा होटलको प्रकाशित दरमा २० प्रतिशत छुट दिइएको सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले पोखराका होटलहरू ७० प्रतिशत भरिएका छन् । यो ८० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।
लेकसाइडमा सात सय पर्यटकीय होटल र पोखराभर एक हजार दुई सय पर्यटकीयस्तरका होटल छन् ।













