News Griha :: न्यूजगृह
दशगजामा एसएसबीले पक्की संरचना बनाउन थालेपछि जनप्रतिनिधिको चासो
इलामको पशुपतिनगर नाका

इलाम– पूर्वी सीमा इलामको पशुपतिनगरको दशगजा क्षेत्रमा पर्ने गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्की संरचना बनाउन थालेपछि स्थानीय तहले चासो दिएको छ।

‘टुरिजम गेस्ट हाउस’ बनाउने भन्दै एसएसबीले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माणको काम सुरु गरेपछि सूर्योदय नगरपालिकाले चासो दिएको हो ।

पूर्वी नाका पशुपतिनगरमा आज यसबारे सरोकारवालासँग छलफल गर्ने तयारी गरिएको छ ।

सूर्योदय नगरपालिका २ का वडाध्यक्ष डिगबहादुर बमजनका अनुसार पुलखोलाको दशगजा क्षेत्रमा एसएसबीले गेस्ट हाउस बनाउन सुरु गरेको पाइएको छ ।

त्यस क्षेत्रको वडाध्यक्ष बमजनलगायत स्थानीय जनप्रतिनिधि र अन्य निकायका प्रतिनिधिले अवलोकन समेत गरेका थिए ।

वडाध्यक्ष बम्जन, वडासदस्य उपेन्द्रराज पान्डे, पशुपतिनगर सीमा प्रशासन कार्यालयका प्रमुख र पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) का डिएसपीसहितको टोलीले हिजो साँझ त्यस क्षेत्रको अवलोकन गरेको थियो ।

त्यस क्रममा तत्काललाई संरचना बनाउन रोकेर दुवै पक्षको छलफलपछि मात्र अघि बढ्न एसएसबीलाई आग्रह गरिए पनि बेवास्ता गरिएको बमजनले बताए ।

आज हुने छलफलपछि विस्तृत बुझेर प्रशासन कार्यालय लगायत निकायमा यसबारे जानकारी दिने तयारी भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

पूर्वी सीमामा यसअघि पनि पटक पटक सीमासम्बन्धी विवाद हुँदै आएको छ । भारतीय सुरक्षाकर्मीले कहिले वन डिभिजन कार्यालयको भवन भन्दै अनि कहिले क्याम्प राख्ने भन्दै संरचना बनाउने गरेका छन् ।

नेपाली जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले त्यस्ता कामको विरोध गर्दै आवाज उठाउने गरेका छन् । त्यही कारण दशगजा क्षेत्र र सीमा मिचेर बनाइएका संरचनाहरु हटाइँदै आएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:२७
Weather Update