
मुगु– अक्कल कोपिला फाउण्डेशनले मुगुको एक गाउँमा कक्षा–१ र २ का विद्यार्थीहरूलाई पढाउन घण्टे शिक्षक राखेको छ। छायाँनाथ रारा नगरपालिका–१३ मा जन्मिएका अक्कल बोहोरा हाल स्पेनमा बस्दै आएका छन्।
उनै बोहोराले आफू र श्रीमती कोपिलाको नाममा रहेको फाउण्डेसनमार्फत् यहाँको बामा गाउँमा रहेको हिमोदय माविमा कक्षा–१ र २ मा अध्ययनरत ८५ विद्यार्थीलाई पढाउन घण्टे शिक्षकको प्रबन्ध गरिदिएको हो।
फाउण्डेशनले सो विद्यालयमा दैनिक दुई घण्टा पढाएवापत् दुई जना शिक्षकलाई पारिश्रमिकको प्रबन्ध गरेको छ।
‘सरकारी शिक्षाको गुणस्तरमा प्रश्न छ । म घर आएका बेला गाउँका भाइबहिनीको शिक्षाको विषयले मन पोल्यो। सानो कक्षामा पनि धेरै विद्यार्थीहरु गाउँमै पढिरहेका रहेछन्, उनीहरुको भविष्यप्रति चिन्ता लागेर सानो सहयोग गरेको हुँ,’ फाउण्डेसनका अध्यक्ष अक्कल बोहोराले भने ।
फाउण्डेशनले दुई शिक्षक राखिदिएपछि गाउँका बालबालिकालाई पढाइमा मद्धत पुगेको स्थानीय तिलबहादुर बुढाले बताए।
वडा नं. १४ का अध्यक्ष जुनबहादुर खड्काले फाउण्डेशनले गाउँका बालबालिकाका लागि ठूलो सहयोग गरेको बताए । ‘गाउँका बालबालिकाको शिक्षामात्रै होइन, वडामा प्रवेशद्धारदेखि चौतारा बनाउने सम्ममा उहाँले सहयोग गर्नुभएको छ,’ उनले भने।