
गौर– रौतहटमा सरस्वतीको मूर्ति विसर्जनको विषयमा उत्पन्न भएको विवाद वार्तामार्फत समाधान भएको छ। वार्तामा सहमति जुटेपछि ईशनाथ नगरपालिका–५ मा गत २ दिनदेखि बाटोमै राखिएको सरस्वती माताको मूर्ति विसर्जन गरिएको छ।
जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बिहान भएको सर्वपक्षीय एवम् सर्वदलीय बैठकमा भएको सहमतिपछि सरस्वती माताको मूर्ति विर्सजन गरिएको हो। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित सुरक्षा निकायका प्रमुख, राजनीति दलका नेताहरु, नागरिक समाज र स्थानीय बुद्धिजीवि र क्षेत्रका जनप्रतिनिधि सहितका व्यक्तिको बैठकमा विवाद समाधानका सन्दर्भमा सहमति जुटेको हो।
सरस्वतीको मूर्ति विर्सजनलाई लिएर फागुन ३ गते भएको विवाद र झडपको कारण फागुन ५ गते बेलुकादेखि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो।
सरस्वतीको मूर्ति सेलाएर अवस्थाको मूल्याङ्कन गरेर कर्फ्यू आदेश हटाउने वा केही खुकुलो गर्ने भन्ने निर्णय हुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिइन्।