
काठमाडौं– मधेस प्रदेशको रौतहट केही दिनदेखि अशान्त छ। शान्ति भंग हुने जोखिम कम गर्न स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। तर रौतहटको विषयलाई लिएर अन्य ठाउँमा पनि प्रदर्शन हुन थालेका छन्। रौतहटको विषयलाई लिएर सोमबार पर्सा सदरमुकाम वीरगञ्जमा पनि प्रदर्शन भयो । प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले त्यहाँ पनि कर्फ्यु आदेश जारी गर्नु पर्यो।
शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएपछि रौतहटको ईशनाथ नगरपालिकाको स्थिति केही शान्त भएको छ। स्थिति शान्त हुने देखिएपछि स्थानीय प्रशासनले कर्फ्यु खुकुलो बनाउने तयारी पनि गरेको छ। यद्यपि स्थितिको पूर्ण मूल्याङ्कन गरेर मात्रै कर्फ्यु खुकुलो पार्नेबारे निर्णय लिइने रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको भनाइ छ।
गत बुधबार (फगुन २ गते) सरस्वती पूजा गरेर त्यसको २ दिनपछि (शुक्रबार) स्थानीय खोलामा मूर्ति विसर्जन गर्न लैजाँदा ईशनाथ–७ घिउरा गाउँमा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुबीच विवाद भएको थियो। मूर्ति विसर्जन गर्न लैजाँदा चर्को आवाजमा डिजे घन्काएको भन्दै मुस्लिम समुदायका केही व्यक्तिले आपत्ति जनाएका थिए। मुस्लिम समुदायको विरोधप्रति मूर्ति विसर्जनकर्ता (हिन्दु समुदायका व्यक्तिहरु) आक्रमक बनेपछि झडपको स्थिति बनेको थियो।
हिन्दु र मुस्लिमबीचको विवाद झडपमा परिणत हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि हिन्दुहरुले सरस्वतिको मूर्तिलाई २ दिनसम्म सडकमै राखे। सोमबार प्रमुख जिल्ला अधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, स्थानीय जनप्रतिनिधि, दुवै समुदायका अगुवासहितको बैठकमा सहमति जुटेपछि मुर्ति विसर्जन गरियो।
रौतहटमा विवाद साम्य हुने अवस्थातर्फ गइरहेका बेला सोमबार दिउँसो वीरगञ्जमा भने हिन्दुवादीका नाममा एक समूहले प्रदर्शन गर्यो। रौतहटमा मुर्ति विसर्जनमा अवरोध भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुले वीरगञ्जमा पसल बन्द गराउनुका साथै सार्वजनिक सम्पत्तिमा तोडफोडसमेत गरे। मुस्लिम समुदायले प्रतिकारको तयारी गर्न थालेपछि वीरगञ्जमा पनि झडपको स्थिति सिर्जना भएको थियो। तर स्थानीय प्रशासनले सोमबार साँझदेखि कर्फ्यु जारी गरेपछि वीरगञ्जमा अहिले अवस्था ‘सामान्य’ नै छ।
मूर्ति विसर्जनका बेला जहिल्यै झडप?
नेपालमा हिन्दु–मुस्लिम समुदायबीच सामान्यतया सौहार्दपूर्ण सम्बन्ध छ। एक–अर्काको धार्मिक तथा सामाजिक कार्यक्रमहरुमासमेत सक्रिय सहभागिता जनाएर नेपालका हिन्दु र मुस्लिमहरुले धार्मिक सहिष्णुताको उदाहरण समेत प्रस्तुत गरिरहेका हुन्छन्। तर कहिलेकाँही भने दुवै समुदायका व्यक्तिहरु एकअर्काविरुद्ध प्रतिकारमा उत्रिँदा झडप र हिंसाका घटना भइरहेका हुन्छन्।
हाल विवादित बनेको रौतहटको ईशनाथ–७ मा विगत ५ वर्षदेखि मूर्ति विसर्जनलाई लिएर विवाद र झडप हुँदै आइरहेको छ। ईशनाथ–७ का वडाध्यक्ष शेख खलीउल्लाह मूर्ति विसर्जनको विषयलाई लिएर हरेक पटकजसो विवाद हुने गरेको बताउँछन्।
‘यहाँको दुर्भाग्य नै भन्नुपर्ला, मूर्ति विसर्जन गर्ने क्रममा सधैं विवाद हुन्छ। यहाँका दाजु–भाइ लड्न तम्सिहाल्छन्। यस्तो अवस्थाले गर्दा हाम्रो ठाउँको नराम्रो प्रचार पनि भएको छ,’ वडाध्यक्ष खलीउल्लाह भन्छन्। उनका अनुसार दुवै समुदायले एक–अर्का समुदायको आस्थाको सम्मान र कदर गरे यस्तो घटना हुँदैन थियो।
‘यहाँ बाटोको समस्या छ। मूर्ति विसर्जन गर्नलाई खोलामा जानु पर्यो। खोलामा जानलाई मस्जिदको बाटो प्रयोग हुन्छ। मस्जिदको बाटो प्रयोग गर्दा त केही फरक पर्दैन। तर मस्जिद अगाडि पुगेर ठूलो–ठूलो आवाजमा डिजे चर्काउने। मुस्लिमलाई लक्षित गरेर नराम्रो शब्दहरु बोल्ने काम भइरहेका हुन्छन्। जसले गर्दा हाम्रो मुस्लिम समुदायका दाजु–भाइको पनि मन दुख्छ,’ वडाध्यक्ष खलीउल्लाहले न्यूजगृहसँग भने।
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाल पनि तराई–मधेसका जिल्लाहरुमा मुर्ति विसर्जन गर्दा हिन्दु–मुस्लिम समुदायबीच धेरै विवाद हुने गरेको बताउँछन्। डीआईजी हुँदा मधेस प्रदेश प्रहरी प्रमुखसमेत रहेर कमान्ड सम्हालेका पाल यस्ता घटनाहरु तत्कालीक परिस्थितिले सिर्जना हुने भएका कारण परिस्थितिको पूर्व मूल्याङ्कन गर्न स्थानीय प्रशासन चुक्न नहुने बताउँछन्।
‘तराई–मधेसका जिल्लामा मूर्ति विसर्जन गर्दा सधैंजसो कुनै कुनै प्रकारको विवाद भएको देखिन्छ। कृष्ण जन्माष्टमीमा कृष्णको मुर्ति विसर्जन गर्दा, विश्वकर्मा पूजामा, दशैंको बेला दुर्गाको मूर्ति विसर्जन गर्दा, सरस्वतिको मूर्ति विसर्जन गर्दा विवाद भइरहेका हुन्छन्,’ पूर्व एआईजी पाल भन्छन्, ‘यस्ता विवादहरु हरेक वर्ष भइरहेका कारण स्थानीय प्रशासनले पहिले नै सतर्कता अपनाएर त्यहीअनुसार परिचालनको रणनीति बनायो भने समस्यलाई छिटै समाधान गर्न सकिन्छ।’
मूर्ति विसर्जनको मिति र समय पहिले नै जानकारीमा हुने हुँदा त्यसलाई ध्यानमा राखेर स्थानीय प्रशासनले रणनीति बनाउनुपर्ने उनको भनाइ छ। ‘यस्तो समस्याहरु समाजमा भइरहन्छन्। यी सामान्य खालका नै समस्या हुन्छन्। तर त्यसलाई कम आँकेर, शान्ति सुरक्षा कार्यान्वयनका लागि कुनै तयारी गरिएन भने ठूलो आकार पनि लिन्छ। यसका लागि सबैभन्दा बढी स्थानीय प्रशासन नै जिम्मेवार हुनुपर्छ,’ पालले न्यूजगृहसँग भने।
अराजक तत्वको घुसपैठ
रौतहटको ईशनाथ–७ घिउरा गाउँमा भएको जस्तै झडप पछिल्लो समय देशका धेरै ठाउँमा भएका छन्। केही समय अगाडि धरान, नेपालगञ्जसहित तराईका अन्य जिल्लामा पनि धार्मिक तथा साम्प्रदायिक सद्भाव विथोलिने गरी घटनाहरु भएका छन्। नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल पछिल्लो समय केही ‘अराजक तत्व’हरु धार्मिक र साम्प्रदायिक सद्भाव विथोल्न लागिरहेको बताउँछन्। जसले गर्दा यस्ता घटनाहरु झन्पछि झन् बढ्दै गइरहेको उनको बुझाइ छ।
‘नेपालमा धार्मिक तथा साम्प्रदायिक द्वन्द्व गम्भीर रुपमा छैन। तर कतिपय अवस्थामा भने केही अराजकम व्यक्तिले साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेका हुन्छन्। केही महिना अगाडि धरानमा त्यस्तै घटना देखियो। नेपालगञ्जमा पनि त्यसका लागि प्रयास भयो। यसको पछाडिको कारण पत्ता लगाउँदै जाने हो भने अराजक तत्वको संलग्नता र उक्साहट नै प्रमुख कारणको रुपमा देखिन्छ,’ पोखरेलले न्यूजगृहसँग भने।
धार्मिक तथा साम्प्रदायिक हिंसाका घटनाहरु बढ्नुमा निहु खोजा प्रवृति पनि जिम्मेवार रहेको पूर्व एआईजी पोखरेलको बुझाइ छ। ‘कुनै एउटा समुदायको बीचमा गएर उक्त समुदायको आस्था विपरीतका गतिविधि गरिदिने। बिच्काइदिने खालका निहु खोजा प्रवृति पनि देखिएको छ,’ पोखरेल भन्छन्, ‘निहु खोजा प्रवृति बढ्दै गएको पनि देखिन्छ। यसले भोलिका दिनमा बिकराल समस्या पनि निम्त्याउन सक्छ। यसलाई पहिचान गरेर समयमै निदान गर्नु जरुरी भइसक्यो।’
नेपाल मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी साम्प्रदायिक सद्भाव कायम गर्नका लागि सामाजिक अगुवाहरुको भूमिका महत्त्वपूर्ण हुने बताउँछन्। अगुवाहरु नै गलत र तथ्यहीन कुराको पछाडि लाग्न थालेपछि पछिल्लो समय देशमा देखिएको समस्याहरु सिर्जना हुन थालेको उनको बुझाइ छ।
‘सामाजिक अगुवाले आफ्नो समुदाय बाहेक अरुको विषयमा गलत कुराहरु बोल्ने। तथ्यहीन कुराहरुका पछाडि लागेर विचार निर्माण गर्ने गर्दा यस्ता घटनाहरु हुन्छन्,’ अन्सारी भन्छन्। रौतहटमा देखिएको पछिल्लो विवाद केही उत्श्रृंखल व्यक्तिहरुका कारण सिर्जना भएको देखिएको उनको भनाइ छ। रौतहट घटनाका विषयमा मुस्लिम आयोगले पनि अध्ययन गरेको र केही उत्श्रृंखल व्यक्तिका कारण त्यस्तो घटना घटेको देखिएको उनले बताए।
‘नेपालमा जुन सामाजिक सद्भाव छ त्यसलाई बिगार्न लागिपरेका केही उत्श्रृंखल व्यक्ति र समूहहरु रौतहटको पछिल्लो घटनामा संलग्न भएको देखिन्छ। किनभने रौतहटको घटना सेलाउन लाग्दा वीरगञ्जमा अर्को लफडा गर्न खोजिएको छ,’ अन्सारीले भने, ‘द्वन्द्व बढाउने र त्यसमा आफ्नो फाइदा खोज्ने समूहहरु छन्। त्यसको पहिचान गरेर कारबाही गरिनुपर्छ। यस्ता घटनाहरु कम हुँदै जान्छन्।’
विश्व हिन्दू महासंघकी अध्यक्ष अस्मिता भण्डारी पनि धर्मको आवरणमा हिंसात्मक गतिविधिहरु बढ्दै गइरहेको बताउँछिन्। धार्मिक समुदायबीच कुनै विषयमा विवाद उत्पन्न हुँदा समुदायका अगुवा, राजनीतिक दल र प्रशासनले त्यसलाई समाधानको बाटोमा लैजानुपर्ने उनको भनाइ छ। ‘अहिले तराईका जिल्लामा भइरहेका घटनाहरु दु:खद किसिमका छन्। प्रत्येक पटक चाडपर्वका बेला, मुर्ति विसर्जन गर्ने बेला यस्ता घटना भइरहेका हुन्छन्,’ अध्यक्ष भण्डारीले भनिन्।
धर्मको नाममा राजनीति भइरहेका कारण पनि पछिल्लो समय रौतहटमा भएका जस्ता घटनाहरु हुने गरेका भण्डारीको भनाइ छ। ‘धर्मको नाममा, धर्ममाथि राजनीतिक गर्ने जुन प्रवृति छ त्यसले पनि यस्ता घटनाहरु घटिरहेका हुन्छन्,’ भण्डारीले भनिन्, ‘जुनसुकै धर्म मान्ने मान्छेले पनि अरुको धर्म र आस्थाको सम्मान गर्दै आफ्नो धर्मको रक्षा गर्ने हो। एकअर्काको आस्थाको सम्मान गरेर नै सामाजिक सद्भाव कायम गर्न सकिने हो।’