News Griha :: न्यूजगृह
चितवनमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु
फाइल फोटो

चितवन— चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारेर उडान सुरु गरेको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् ।

समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । यसबारे तीन वर्ष अध्ययन गरिएको थियो । एक सय २० किलोभन्दा कम तौल भएको अवस्थामा मात्र प्याराग्लाइडिङ उडान भर्न सकिने उनले जानकारी दिए ।

Chitwan-Paragliding11681540488.png

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ । कम्पनीका सञ्चालक शालिक दवाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए ।

यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जी जम्प जस्ता गतिविधि गर्ने योजना रहेको उनको भनाइ छ । दवाडीले भने, 'चौकीडाँडामा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवर्द्धनमा काम गर्ने योजना छ ।' कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।

प्याराग्लाइडिङ उडानका लागि प्रति व्यक्ति आठ हजार रुपैयाँ शुल्क तोकिएकामा हाललाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । दैनिक ४५ जनासम्मलाई उडाउन सकिने दवाडीको भनाइ छ ।

नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले नागबेली सडक र त्रिशूली नदीमाथिको उडानले पर्यटक आकर्षित हुने बताए । प्याराग्लाइडिङ चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताए । नारायणगढ–मुग्लिन सडक खण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताए । सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवर्द्धनको काम भइरहेको उनको भनाइ छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने किसिमका गतिविधि गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १२:०८
Weather Update