News Griha :: न्यूजगृह
क्षमता हुनेले मात्र राष्ट्र बैंकमा जागिर पाउँछ : पूर्व गभर्नर नेपाल

काठमाडौं— नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गरेका छन् ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्व गभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताए । शनिबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भनसुनको महत्त्व आफूले नदेखेको दोहोर्‍याए । 

पूर्व गभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरूले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए । तर त्यसका लागि 'कोही पनि सबै कुरामा जान्ने हुँदैनन्' भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उनको भनाई थियो । 

उनले राष्ट्र बैंकमा तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर खान सोर्स नचाहिने दोहोर्‍याए । 'सोर्सको मैले त्यत्तिको महत्त्व देखेकै छैन । मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि । मलाई थाहा छ । तपाईंहरूले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन । त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो', नेपालले भने, 'त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर खान सोर्स चाहिँदैन । क्षमतालाई आफैंले उजागर गर्ने हो । कोही पनि पर्फेक्ट हुँदै हुँदैन । सबै पढेर तैँले त बढी जानेको छस् भन्ने हुँदै हुँदैन । आफैंले कोसिस गरेर आफैं जान्ने हुने हो ।' 

उनले व्यापार व्यवसाय गर्नका निम्ति पनि झन् बढी अध्ययन आवश्यक रहेको बताए । 'भगवान्ले हामीलाई यस्तो रिर्सोसेस दिएका छन् । जति त्यसको प्रयोग गर्‍यो, त्यति फाइदा लिन सकिन्छ । त्यो के हो ? भन्दा दिमाग हो । यसलाई जति प्रयोग गर्‍यो, त्यति फाइदा हुन्छ । जतिसक्दो त्यसलाई त्यति प्रयोग गर्नु पर्दछ', उनले भने, 'मलाई दुःख लाग्छ । हामी कहाँ कस्तो संस्कार भयो भने १० कक्षा दश वर्ष फेल भयो । त्यस्तोलाई दुकान खोल भनेर बाबुआमाले पैसा दिन्छन् । व्यापार गर्नलाई त सबैभन्दा बढी पढ्नुपर्छ ।'

पूर्व गभर्नर नेपालले नेपालमा नपढ्नेहरूलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्क समेत गरे । उनले माध्यमिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरूको भविष्य आफूले नेपालमा राम्रो देखेको बताए । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १३:५४
Weather Update