
तुलसीपुर– नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ। विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो।
टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको उपप्रशासक विनयकुमार पोख्रेलले बताP। उनका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण गराइएको छ।
प्रधानमन्त्री दाहालले आवश्यक अध्ययन गरेर समाधान गर्ने प्रतिबद्धता जनाएको उपप्रशासक पोख्रेलले बताए। विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ।
तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको १ हजार ६६२ बिघा जग्गा छ। तीमध्ये लमहीको सतबरियामा १६८, राजपुरमा १ हजार १३२, तुलसीपुरस्थित बेलझुण्डीमा ३२६ र गढवाको गोबरडिहामा ३६ बिघा जग्गा रहेको उपप्रशासक पोख्रेलले जानकारी दिए। उनका अनुसार ती सबै जग्गा अतिक्रमणमा परेका छन्।
२०५७ सालभन्दा अघि जग्गाको आयस्ता पनि विश्वविद्यालयले पाउने गरेको थियो। त्यसपछि विश्वविद्यालयले कुनै पनि जग्गाको आयस्ता पाउन नसकेको जनाउँदै आएको छ। पहिले आयस्ता बुझाउने सर्त रहे पनि अहिले नबुझाएको उपप्रशासक पोख्रेलले बताए।
नक्कली मोहीले समस्या
जग्गामा मोही रहेपनि समस्या समाधान गर्न आफूहरु तयार रहेको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए। नक्कली मोही खडा हुँदा समस्या भइरहेको उनको भनाइ छ।
‘खासमा मोही भनेको चार सय आठ बिघा जग्गामा मात्रै हो’, अधिकारीले भने, ‘अहिले नक्कली मोही खडा हुँदा समस्या उत्पन्न भएको छ।’ राजनीतिक दलहरुले समस्या समाधान गर्न चाहेमा समाधान छिटो हुने उनको बुझाइ छ। उनका अनुसार अहिले उक्त जग्गामा ३० वटा पक्की घरसमेत बनिसकेका छन्।
विश्वविद्यालयको जग्गा भएको ६ धूरमा १ जना मात्रै सुकुम्बासी रहेको भन्दै अरु कोही पनि सुकुम्वासी नरहेको उनले दाबी गरे। ‘जग्गामा तेरो/मेरो भन्ने अवस्था सिर्जना भएको छ’, उनले भने, ‘हामीसँग लालपुर्जा छ। उहाँहरुले पनि लालपुर्जा छ भनेपनि अहिलेसम्म देखेका छैनौँ।’
२०७४ सालमा स्थानीय तहको निर्वाचन हुनुपूर्व जग्गाको विषयमा उत्पन्न समस्या समाधानका लागि विश्वविद्यालयका ३ कर्मचारी खटाएर यहाँका किसानको फाराम भर्ना लगाइएको थियो।
किसानको फाराम भरिसकेपछि कार्यालय खोलेर समस्या समाधान गर्न खोजिए पनि स्थानीय चुनाव नजिकिँदै गरेकाले आचारसंहिता लागेपछि कार्यालय खोल्ने अवस्था आएन। त्यतिबेला कार्यालय खोल्ने अवस्था नभएपछि हालसम्म पनि उक्त कार्यालय खुल्न नसकेको विश्वविद्यालयका रजिष्ट्रार अधिकारीले जानकारी दिए। अहिले पनि अतिक्रमण भएको स्थानमा गएर घर नबनाउन पटक–पटक ताकेता गर्ने गरिएको भन्दै विचौलियाले जग्गा किनबेच गरिरहेका उनले बताए। अतिक्रमित जग्गाको विषय समाधानका लागि आयोग बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।