News Griha :: न्यूजगृह
नेपाली महिलालाई कुवेत पठाउने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन, १ जना पक्राउ

काठमाडौं– नेपाली महिलालाई घरेलु कामदारको रुपमा कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–४ घर भएका ४७ वर्षीय मदुला मिया भनिने मुर्तुजा मिया छन्।

मियालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। ब्यूरोका अनुसार मियाले आर्थिक अवस्था कमजोर भएकी १ जना महिलालाई मासिक २२ हजार रुपैयाँसम्म कमाइ हुने भनेर कुवेतमा रोजगारीको प्रलोभन देखाएका थिए। कुवेत पठाउने भन्दै ती महिलालाई भारत हुँदै श्रीलंका पुर्‍याइएको थियो। 

श्रीलंकामा पुर्‍याएपछि राहदानी लगायत कागजात कब्जामा लिएर महिलालाई बन्धक बनाएर राखिएको थियो। मानव तस्करीमा संलग्न समूहले त्यहाँ ठूलो संख्यामा महिलालाई बन्धक बनाएर विभिन्न काममा लगाउने गरेको ब्यूरोले जनाएको छ। 

पीडित पक्षको उजुरीको आधारमा खोजी गर्ने क्रममा मियालाई मंगलबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोका एसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए। महिलाहरुलाई बेचबिखन गर्ने कार्यमा गिरोह नै संलग्न रहेको पाइएको र गिरोहका अन्य सदस्यको खोजी भइरहेको प्रहरीले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:२८
Weather Update