News Griha :: न्यूजगृह
नयाँ वर्षले पोखरामा पर्यटकको भीड, ९० प्रतिशत होटल भरिए 

पोखरा— नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत १ माघमा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । 

पोखरा र आसपास गरी यहाँ ठुला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको बताए । 'नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्', उनले भने, 'लेकसाइड मात्र नभई पोखरा र आसपासका होटलसमेतकोअक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।' 

नयाँ वर्षको अघिल्लो दिन ३० चैत र १ वैशाखमा लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १५:२२
Weather Update