
काठमाडौं– नेपालले नामिबियालाई पराजित गरेको छ। नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई तीन रनले पराजित गरेको हो।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित ओभरमा १७७ रनमा सीमित भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८० रन बनाएको थियो।
नेपालका लागि कुशल मल्ल ५५ रनमा नटआउट रहे। आशिफ शैखले ३१ रन बनाए। गुल्सन झा २६ रनमा पेभेलियन फर्किँदा दिपेन्द्रसिंह ऐरीले १६ रन जोडे। कप्तान रोहित पौडेल १० रन बनाएर आउट भए। करण केसी ७ रन, सोमपाल कामी २ रन बनाएर आउट हुँदा प्रतिश जीसी एक रनमा नटआउट रहेका थिए।
जवाफी ब्याटिङका क्रममा नामिबिया ७ विकेट गुमाउँदै १७७ रनमा सीमित हुन पुग्यो। नामिबियाका लागि जेजे स्मितले ५५ रन बनाए। जोन फ्राइलिंकले ३७ रन बनाउँदा जेपी कोटेजले २५ रन जोडे। मिचेल भान लिङगेनले १० रन बनाए भने मलन क्रुजर तीन रन बनाएर पेभेलिन फर्किए। जाने ग्रीन २३ र ब्रेनार्ड स्चोल्र्ट ४ रनमा नटआउट रहे।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए भने अभिनास बोहोरा र करण केसीले एक एक विकेट लिए।













