News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकामा गड्याङगुडुङसहितको वर्षा

काठमाडौं– अहिले काठमाडौं उपत्यकाभित्र वर्षा भइरहेको छ। बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै वर्षा भएको हो। 

वर्षाले हिँड्डुलमा समस्या पैदा गराएको छ। वर्षाभएसँगै चिसो पनि बढेको छ। 

नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो । 

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

लामिछानेका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए। 

यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए। आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ। 

pani-rain-5-1709450614.jpg
 

pani-rain-2-1709450615.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:५७
Weather Update