News Griha :: न्यूजगृह
भारतले जित्यो इङ्ल्याण्डविरुद्धको टेस्ट शृंखला

काठमाडौं—इङ्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले ४–१ ले जितेको छ। श्रृंखलाको अन्तिम टेस्टको तेस्रो दिन नै भारतले एक पारी र ६४ रनले जित निकाल्दै सिरिज ४–१ को अन्तरले आफ्नो पक्षमा पारेको हो।

इङ्ल्याण्डले पहिलो पारिमा २१८ रन बनाएको थियो। भारतले पहिलो पारिमा ४१७ रन बनाउँदा दोस्रो पटक ब्याटिङका लागि मैदान उत्रिनु नै परेन। पहिलो पारिमा २५९ रनले पछि परेको इङ्ल्याण्ड दोस्रो पारिमा जम्मा १५९ रनमा समेटिएको थियो।

भारतका लागि रविचन्द्रन आश्विनले १०० औं टेस्टमा ९ विकेट लिएर कीर्तिमान बनाउँदा यशस्वी जयसवाल सिरिज भर ७१२ रन बनाउँदै प्लेयर अफ दी सिरिज चुनिए।

दोस्रो दिन भारतले ४७७ रन बनाएर अलआउट भएको थियो। भारतका कुलदीप यादवले ३० रन बनाएका बेला इङ्ल्याण्डका जेम्स एन्डरसनले सात सयौँ विकेटको रुपमा पभेलियन पठाए।

उनी ७ सय टेस्ट विकेट लिने पहिलो तीब्र गतिका बलर पनि बनेका छन्। त्यसपछि जसप्रित बुमराहलाई २० रनमा आउट गरेपछि भारतीय पारि समाप्त भएको थियो। जसमा एन्डरसनले ५ विकेट लिएका थिए।

इङ्ल्याण्डको दोस्रो पारि पनि खराब सुरुआत भएको थियो। दोस्रो ओभरमै आश्विनले बेन डकेटलाई पभेलियन पठाए। उनी जम्मा २ रन बनाएर आउट भएका थिए।

त्यसपछि छैटौँ ओभरमा ज्याक क्रली खाता नै नखोली आउट भए। ओले पोप १९ रनमा आउट हुँदा इङ्ल्याण्ड दबाबमा आएको थियो। जोए रुट र जोनी बेरिस्टोले पारि सम्हाल्ने प्रयास गरे पनि वेरिस्टो ३९ रन बनाएर आउट भएका थिए।

उनी दोस्रो पारिमा सर्वाधिक धेरै रन बनाउने दोस्रो खेलाडी बने। रुटले सर्वाधिक ८४ रन बनाए। सैगरी टम हार्टले २० तथा सोएब बसिर १३ रनमा आउट भए। भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिँदा जसप्रित बुमराह र कुलदीप यादवले दुई/दुई विकेट लिए।

भारतका लागि पहिलो पारिमा कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय पारि खेल्दा देबदत्त पडिकल र सर्फराज खानका साथ यशस्वी जयसवालले अर्धशतक बनाए।

भारतका गीलले ११०, शर्माले १०३ रनको शतकीय पारि खेले। यसैगरी जैसवालले ५७ रन बनाउँदा पडिकलले ६५ तथा खानले ५६ रन बनाए। इङ्ग्ल्याण्डका सोएब बसिरले सर्वाधिक पाँच विकेट लिए। जितसँगै भारत आईसीसी टेस्ट च्याम्पियनसिपको तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। भारतले ३ सिरिजका ९ म्याच खेल्दा ६ मा जित र २ मा हारका साथै १ खेल बराबरीमा टुंग्याएको थियो। भारतको ७४ अंक भएको छ भने ६८.५२ प्रतिशत रहेको छ।

यसैगरी इङ्ग्ल्याण्डले २ सिरिजका १० खेल खेल्दा ३ मा जित, ६ मा हार र  १ मा बराबरी खेल्दै जम्मा २१ अंक बनाएको छ । इङ्ग्ल्याण्डको प्रतिशत १७.५० रहेको छ। इङ्ग्ल्याण्ड तालिकाको ८ औं स्थानमा छ। 

आईसीसी टेस्ट च्याम्पियनसिप २०२३–२५ को साइकलमा टेस्ट खेल्ने १० टिमले प्रतिस्पर्धा गरिरहेका छन्। जसका शीर्ष २ टिमले फाइनल खेल्ने छन्। टेस्ट च्याम्पियनसिपमा भारत लगातार दुई पटक फाइनल पुगे पनि उपाधि जितेको छैन।

भारत पहिलो च्याम्पियनसिपमा न्युजिल्याण्डका साथै दोस्रोमा अस्ट्रेलियासँग पराजित भएको थियो।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १७:१९
Weather Update