काठमाडौं— छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुँदैछ। शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
यता,पहिलो सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफएफसी फाइनलमा पुगेको यो पहिलो पटक हो भने शहीद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड पहिलो पटक गोल्डकपमा सहभागी भएको हो। चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागीतामै फाइनलमा पुग्न सफल भएको छ।
प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैंयाँ विधागत पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।













