
काठमाडौं— युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्दैछ। उक्त खेलका लागि नेपाली टोलीसहित एन्फाका १० पदाधिकारी ‘अफिसियल’ बनेर मलेसिया गएका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको मैदान खराब भएपछि नेपालले होम र अवे खेल बहराइनमा खेल्न लागेको हो। राखेपको स्वीकृति पश्चात् मात्र खेल सङ्घका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको युवा तथा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसअघि हिजो राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न भनेका थिए।
खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न सुझाव दिएका श्रेष्ठले खेल क्षेत्रका समस्या समाधानका लागि आफू तयार रहेको बताउँदै त्यसमा साथ दिन आग्रह गरेका थिए।
उनले भनेका थिए, ‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस्। खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ। खेल क्षेत्रमा रहेका भौतिक र आर्थिक समस्या समाधान गर्न म तयार छु। त्यसका लागि साथ लिन तपाईं पनि त तयार हुनुपर्यो। ताली एक हातले मात्र बज्दैन।’
खेलकुदको विकास भएन भन्ने कथन लामो समयदेखि सुन्दै आएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सबैले आफ्नो क्षेत्रमा जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताए।













