News Griha :: न्यूजगृह
इन्टरपोलबाट रेड नोटिस भएका लागूऔषध कारोबारी राई कुवेतबाट पक्राउ, नेपाल ल्याइयो
प्रतीकात्मक तस्बिर।

काठमाडौं— लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इलाम नगरपालिका– १२ घर भएका २९ वर्षीय रोशन राई छन्। उनका अनुसार राईलाई एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल ल्याइएको हो।

इलाम नगरपालिका– ९ ठेगाना भएका २५ वर्षीय विकास बसेलसमेत तीन जनालाई अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम पाँच सय मिलिग्राम र डिजिटल तराजु एक थानसहित गत साउन २६ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

थप अनुसन्धान एवं सोधपुछका क्रममा उक्त लागूऔषधको कारोबारमा रोशन राईसमेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस २५ गते उनीविरुद्ध रेड नोटिस जारी भएको हो।

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:११
Weather Update