News Griha :: न्यूजगृह
रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु 

काठमाडौं– रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीले ज्यान गुमाएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको जनाएको छ। 

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटकमा नवीन शाही, उदयपुरका पदम बहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जित बहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान छन्। 

रुसी सेनामा भर्ना भएकामध्ये १२ जना नेपालीको यसअघि नै मृत्यु भएको थियो। सरकारले औपचारिक रुपमा प्राप्त गरेको जानकारीअनुसार रुसी सेनामा भर्ना भएर ज्यान गुमाउने नेपालीको संख्या १९ पुगेको छ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउनका लागि उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखिएको जनाएको छ। साथै, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको उपचार गर्ने तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुन: अनुरोध गरिएको मन्त्रालयले जनाएको छ। 

Mofa_Release_about_nepali_killed_in_russian_army-1710419860.jpg
 

सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्तिमा अध्ययन तथा पेसा व्यवसायमा संलग्न भएका बाहेक अन्य नेपाली नागरिकलाई रुस यात्रा गर्नुपर्नेमा नो अब्जेक्सन लेटर (एनओसी) लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाइएको छ। 

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले हजारौंको संख्यामा नेपालीहरु रुसी सेनामा भर्ना भएको समाचारहरु सम्प्रेषण गरेका छन्। रुसी सेनामा भर्ना भएका नेपालीमध्ये कयौं घाइते तथा अङ्गभङ्ग भएका र केही नेपालीहरु युक्रेनको कब्जामा रहेका विवरणहरु पनि सार्वजनिक भएका छन्। 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १८:२६
Weather Update