News Griha :: न्यूजगृह
रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार महिलाको मृत्यु

विराटनगरअचानक रुखको हाँगा भाँच्चिएर खस्दा मोटरसाइकलमा सवार एक महिलाको आज अपराह्न मृत्यु भएको छ।

धनकुटा नगरपालिका–४ देब्रेबासमा भएको घटनामा ३० वर्षीया उषा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटा बजारबाट हिलेतिर प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलमा गइरहेका दम्पती दुर्घटनामा परेका हुन्। सडक मास्तिरबाट रुखको हाँगा भाँच्चिएर खसेको थियो। हाँगाले मोटरसाइकल पछाडि बसेकी तामाङलाई लागेको थियो।

सिकिस्त घाइते अवस्थामा उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

मोटरसाइकल हाँकिरहेका उनका श्रीमान आशिष तामाङ भने सामान्य घाइते छन्।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २०:२४
Weather Update