News Griha :: न्यूजगृह
मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ

काठमाडौं– गत माघ २९ गते रूपन्देहीको मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उनले आफ्नो मोबाइल दिए। मोबाइल पाउने बित्तिकै ती युवा मोटरसाइकल कुदाएर भागे।

राजु तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासमेत आफूलाई परेको समस्याको बारेमा जानकारी गराए। 

प्रहरीलाई भने यो घटना पहिलो थिएन। यसअघि गत माघ ४ गते रोहिणी गाउँपालिकाका दीपेन्द्र चौधरी, माघ १६ गते ओमसतिया गाउँपालिकाका सन्दिपकुमार पासी र माघ १७ गते भैरहवाकै सावित्रा कान्दुको मोबाइल पनि मोटरसाइकलमा आएका युवाले खोसेर भागेका उजुरी प्रहरीलाई आएको थियो।

विभिन्न बहानामा मोबाइल चोरी गरेर भाग्ने युवाको खोजीमा प्रहरी पहिलेदेखि थियो । 'यसको लागि विशेष टोली गठन गरी प्रहरी अनुसन्धानमा थियो,' रूपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले भने, 'बुधबार यस घटनाबारे थप खबरसँगै मोटरसाइकल विवरण पायौँ।'

मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ गरेको छ। उनका अनुसार सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनिष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान पक्राउ परेका छन्।

यही समूहले रूपन्देहीका विभिन्न भागमा केही समयदेखि मोबाइल चोरी गरेको प्रहरीको आरोप छ। पक्राउ परेकाहरू यसअघि पनि लागूऔषध र चोरीलगायत मुद्दामा सजाय पाएका युवाहरू हुन्।

उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका आठ थान मोबाइल र लु ५६ प ७१७ नं को मोटरसाइकलसमेत बरामद गरेको छ। 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २१:३५
Weather Update