News Griha :: न्यूजगृह
तीन वर्षपछि चिनियाँ पर्यटक म्याग्दीको घोडेपानीमा
म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल पुनहिलबाट देखिएको सुर्योदयको दृश्य र दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक । तस्बिर : रासस

म्याग्दी— म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक भित्रिएका छन् । २०७६ साल चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनियाँ पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो ।

नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन् ।

पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्वबले स्वागत गरेका छन् । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् ।

घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथ प्रर्दशक सुजित रेग्मीले बताए ।

उनका अनुसार यो पदमार्गमा थप तीन वटा चिनियाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन् । सात दिनको नेपाल भ्रमणमा आएका उनीहरुले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन् ।

घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो एक महिनायता प्रतिदिन पाँच सय जना हाराहारीमा पर्यटक भित्रिएका व्यवसायीले बताएका छन् ।

घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित ५६ लाख ६० हजार रुपैयाँमा ठेक्का लिएका छन् । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति एक सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सुर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ ।

वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रङ्गीन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी– पुनहिल क्षेत्रको जङ्गल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब तीन सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०९:२१
Weather Update