
काठमाडौं— आईपीएलमा चेन्नई सुपर किंग्सले विजयी सुरूवात गरेको छ।
शुक्रबारको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई विजयी भएको हो।
बैंगलोरले दिएको १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो।
चेन्नईका शिवम दुबेले अविजित रहँदै ३४ रन बनाए। उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। रविन्द्र जडेजाले १७ बलमा १ चौकासहित अविजित रहँदै २५ रन बनाए।
उनीहरूबीच पाँचौँ विकेटका लागि ३७ बलमा ६६ रनको साझेदारी भएको थियो।
चेन्नईले पहिलो विकेट चौथो ओभरको अन्तिम बलमा गुमायो। यश दयालले फ्याँकेको बललाई प्रहार गर्नेक्रममा एज लागेर कप्तान ऋतुराज गायकवाड १५ रनमा आउट भए। उनी फस्ट सिल्पमा क्यामरून ग्रिनबाट क्याच आउट भए।
सातौँ ओभरको अन्तिम बलमा अर्का ओपनर रचिन रविन्द्र पनि डिप स्क्वायरमा रजत पाटिदारबाट क्याच आउट भए।
बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले एक/एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७३ रन बनायो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा दिनेश कार्तिक २८ रनमा अविजित रहे ।
चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले चार विकेट लिँदा दीपक चहरले एक विकेट लिए ।
जारी प्रतियोगिता अन्तर्गत शनिबार दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ भने राति ७:४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।













