News Griha :: न्यूजगृह
चितवनमा सातौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौं— चितवनमा सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी २२ देखि २४ वैशाखमा औद्योगिक प्रदर्शनी आयोजना गरिएको सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

चितवन उद्योग संघको आयोजनामा, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्धन सहयोगमा हुन गइरहेको प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुनेछ । निर्माण, कृषि, अटो मोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड वेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुने बताइएको छ । 

यी उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सय भन्दा बढी स्टलहरू रहने आयोजकले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रदर्शनीले नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने बताए । 

उनले प्रदर्शनी उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्न सहयोग पुग्ने बताए । प्रदर्शनीका क्रममा मेक इन नेपाल लगायतका स्वदेशी उत्पादकत्वको वृद्धि र पहुँच बिस्तारको गोष्ठी आयोजना गर्ने समेत बताए । 

अध्यक्ष कँडेलले प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले यस प्रदर्शनी नेपालको औद्योगिक विकासमा सहयोग पुर्‍याउन कोशे ढुंगा साबित हुने समेत बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:०२
Weather Update