
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका परिसूचकमा सुधार आएको दाबी गरेका छन् ।
सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकमा सुधार आएको दाबी गरे ।
‘वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ । वित्तीय तरलताको स्थितिमा सुधार भएको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन लगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको छ । कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ । समग्रमा आर्थिक परिसूचकमा राम्रो सुधार भएको छ,’ बैठकमा प्रधानमन्त्रीले भने ।
बैठकमा प्रधानमन्त्रीले नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवम् अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएको बताए ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीहरूलाई आग्रह गरे ।













