News Griha :: न्यूजगृह
सिक्किम विराट गोल्डकपको सेमिफाइनलमा

मोरङ— भारत सिक्किमको ड्रेगन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

विराट गोल्ड कप ट्रष्टले विराटनगरको शहीद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत गएरातिको खेलमा ड्रेगन फुटबल क्लबले काठमाडौंको न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गरेको हो।  

सिक्किमका लागि ह्यारिसन र आदर्श तामाङले एक एक गोल गरेका थिए। यस्तै एनआरटीका लागि शिशिर लेखीले एक गोल गरेका थिए। 

मध्यान्तर आगाडि खेलको ४०औँ मिनेटमा शिशिरले गोल गरी एनआरटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५९औँ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा पुर्‍याएका थिए ।
     
निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर एक सय १९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजयी गोल गरी आफ्नो टोलीलाई सेमिफाइनमा पुर्‍याएका थिए। उनी खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए । तामाङले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

आज चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले ११ लाख तथा उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०८:१७
Weather Update