News Griha :: न्यूजगृह
‘वान एक्स बेट’मा जुवा खेलाउने तीन एजेन्ट पक्राउ, ५७ करोडको कारोबार गरेको दाबी

काठमाडौं— ‘वान एक्स बेट’मार्फत जुवा खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका-९ का ३१ वर्षीय सञ्जयकुमार साह र १९ वर्षीय रामजी साह तथा वडा नम्बर १० का ३० वर्षीय राकेश चौधरी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गत चैत २९ गते सर्लाहीबाट उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, २ थान ल्यापटप, १ थान सीपीयू, नगद ६२ हजार रुपैयाँ, विभिन्न सहकारीको ११ थान पासबुक, १६ थान बैंकको चेकबुक र ११ थान डिपोजिट भौचर बरामद गरेको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा हालसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको उपरीक्षक रेग्मीको भनाई छ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:३८
Weather Update