News Griha :: न्यूजगृह
इङवा हाइड्रोले आईपीओ जारी गर्दै

काठमाडौं— इङवा हाइड्रोपावरले १३ वैशाखदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको छ । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपिओ जारी गर्न लागेको हो ।

त्यस्तै सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ ।

बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०९:२५
Weather Update