News Griha :: न्यूजगृह
नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न कतार तयार

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीबीच शिष्टाचार भेट भएको छ।

भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न आग्रह गरे।  

‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौँ। त्यसैले श्रमिकको सिपविकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ,’ मन्त्री अर्यालले भने।

त्यस्तै कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद दिए। 

‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु। कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रशंसनीय छ,’ उनले भने। 

त्यस्तै नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताउँदै कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको बताए। त्यसैले नेपाली श्रमिकको सिप विकास लागि कतार सहयोग गर्न कतार सधैँ तयार रहेको उनले स्पष्ट पारे। ‘नेपाली श्रमिकको सिप विकासका लािग के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस्। हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने।
 
भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विषयमा पनि छलफल भएको थियो।

कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन्। जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासी श्रमिकको लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:४२
Weather Update