News Griha :: न्यूजगृह
वायुसेवा निगमले तिर्‍यो करिब तीन अर्ब साँवा-ब्याज

काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब तीन अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रुपैयाँ भुक्तानी गरेको हो ।

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको असार २०७९ देखि ३० चैतसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको छ । सोही वर्षको असारमा एक अर्ब ३५ करोड, असोजमा ७३ करोड नौ लाख ५५ हजार दुई सय एकासी, पुसमा ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ गरी जम्मा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रुपैयाँ भुक्तानी गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी कारोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुवै कोषलाई नियमित रूपमा किस्ता तिर्न सकिएको प्रवक्ता पौडेलले बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १४:२२
Weather Update