
काठमाडौं— उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ ।
विभागले नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताए ।
उनले अब प्रचलित कानुनबमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवाहरू स्वाचालित बनाउने व्यवस्था गरेको बताए । चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न सुरु गरिएको उनले जानकारी दिए ।
उनले वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न सुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वाचालित बनाउने विभागको तयारी रहेको बताए । साथै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधनको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनको लागि विभागले वेबमा आधारित स्वचालित प्रणाली निर्माण गरेको बताए । उनले विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने, लगानी स्वीकृतको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वचालित प्रणालीमार्फत नै हुने बताए ।
महानिर्देशक तिवारीले लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भएको बताए । उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीको लागि प्रशासनिक सुधारको चरणमा रहेको भन्ने सन्देश जाने विभागले विश्वास लिएको उनको भनाइ छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो ।
विभागले नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यान्वयन गर्ने बताएको छ । उक्त प्रणाली अन्तर्राष्ट्रिय अभ्यासमा आफैँमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक रहेको भारत, बंगलादेशलगायत मुलुकमा भएको अभ्यासले देखाएको छ ।













