News Griha :: न्यूजगृह
राजस्व कम उठेकाेमा राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई बिहीबार सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व सङ्कलनमा कुनै पनि लापरबाही गर्न नहुने बताएका हुन् ।

‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढङ्गले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व सङ्कलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व सङ्कलनको जिम्मा अर्थ मन्त्रालयको हो,’बैठकमा उनले भने ।

काठमाडौंलगायत राज्यका विभिन्न स्थानमा राजस्व सङ्कलन गर्न स्थापित आन्तरिक राजस्व कार्यालयले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नु नहुने उनको भनाइ छ ।

बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमान्दारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुरालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ ।

‘झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम सङ्कलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो,त्यसको समीक्षा हुन जरुरी छ । तथ्याङ्कलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ’,उनले भने, ‘समस्या पहिचान हुनुपर्‍यो,समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।’

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:२७
Weather Update