
काठमाडौं — २३ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल लाइफ इन्स्युरेन्स कम्पनीले क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत वैशाख महिनाभर बिमा शुल्कको नवीकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।
ग्राहक तथा अभिकर्तालाई प्रविधिमार्फत कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायक ईसेवा, खल्ती, फोनपे,कनेक्ट आईपीएस, आईएमई पे र प्रभु पेसँग कम्पनीले सम्झौता गरेको छ ।
‘कम्पनीका ग्राहकले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्’ नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमण पराजुलीले भने । घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथसाथै कारोबार सुरक्षित उनले बताए । ‘आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित छ’ पराजुलीले भने । २०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले हाल करिब १ सय ९२ कार्यालयमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।













