
काडमाडौं— चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुईहजार ४५१ विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एकहजार ४७३ विद्युतीय सवारी आयात भएका थिए ।
विभागको तथ्यांकअनुसार चैतमा मात्रै २५३ विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा ११६ मात्र विद्युतीय सवारी साधान आयात भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एकसय किलोवाट क्षमताका एकहजार ७५५ विद्युतीय सवारी आयात भएका छन् ।
भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट एकसय किलोवाट क्षमताका ३८१, दक्षिण कोरियाबाट एकसय किलोवाट क्षमताका दुईसय ४० र इन्डोनेसियाबाट तीन विद्युतीय सवारी साधान आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट एकसयदेखि दुईसय किलोवाट क्षमताका २०, चीनबाट ४३, युकेबाट दुई विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।
भन्सार विभागका अनुसार चीनबाट २०० देखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
समीक्षा अवधिमा भारतबाट मात्रै रु चार अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर ईभी र महिन्द्राका गाडी आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडी आयात हुने गरेको छ ।
सात अर्बका गाडी भित्रिए
चालू आर्थिक वर्षको नौ महिनामा करिब रु सात अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुईहजार ४५१ विद्युतीय सवारी आयातमा रु छ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ ।
विद्युतीय सवारी आयातबाट सरकारले रु एक अर्ब ९३ करोड १३ लाख ५९ लाख राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा रु चार अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले रु एक अर्ब १६ करोड ५५ लाख २० हजार राजस्व संकलन गरेको थियो ।













