
काठमाडौं— ब्लू टिकका लागि ट्वीटरले लागु गरेको शुल्क नतिरेपछि नेपालका प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको ट्वीटरको ब्लू टिक हटेको छ ।
अर्बपति एलन मस्कले कम्पनी खरिद गरेसँगै ल्याएको यो नियमको कारण विश्वभर नै पैसा नतिर्ने ट्वीटर अकाउन्टले ब्लू टिक गुमाएका छन् । यसैक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताले ब्लू चेक भेरिफिकेशन गुमाएका छन् । नयाँ नियमअनुसार प्रक्रिया पुगेका अकाउन्टको ब्लू टिक भने कायमै छ ।
ट्वीटरको नयाँ नियमअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत ट्वीटर अकाउन्टलाई सरकारी तथा संस्थागत सिल्भर टिक दिएको छ । तर, नेपालका प्रधानमन्त्रीको अफिसियल अकाउन्ट पीएमओ नेपालको ब्लू टिक भने हटेको छ ।
त्यस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस महामन्त्री गगन थापालगायत नेताको ब्लू टिक हटेको छ ।
केही नेपाली मिडियाको पनि ब्लू टिक हटेको छ ।
अनलाइनखबर, ईकान्तिपुर, सेतोपाटी, रातोपाटी, बीबीसी नेपाली, हिमालखबरलगायत मिडिया हाउसको ब्लू टिक छैन ।
नेपाल प्रहरीको ट्वीटर खाता भने सरकारी तथा संस्थागत अकाउन्टको सिल्भर टिकमा परिणत भएको छ ।
ट्वीटरले सन् २००९ देखि नक्कली अकाउन्टलाई निरुत्साहन गर्न भेरिफिकेशनको सुरुवात गरेको थियो । यद्यपि, सन् २०२२ मा मस्कले ट्वीटर खरिद गरेपछि उनले यो नियम परिवर्तन गर्दै नीलो चेकमार्कमा सब्सक्रिप्सन प्रणाली सुरु गरेका हुन् ।
नयाँ नियमअन्तर्गत ट्वीटरले सरकारी तथा संस्थागत अकाउन्ट, निजी संस्थागत अकाउन्ट, प्रमाणित अकाउन्ट लगायत विभिन्न क्याटोगोरी राखेको छ ।