
काठमाडौं— नेपाल राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियमविपरीत काम गर्ने बैंकलाई बैंक सुपरीवेक्षण विभागले कारबाही गरेको हो । तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्दा जरिबानामा परेका हुन् ।
राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक)लाई २ करोड ८४ लाख रुपैयाँको जरिबाना तिराएको हो । यसैगरी, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ तिराएको छ ।
सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ, कृषि विकास बैंक ६९ लाख ५८ हजार रुपैयाँ र हिमालयन बैंक ७१ लाख ७२ हजार रुपैयाँको कारबाहीमा परेका छन् ।
राष्ट्र बैंकका अनुसार सम्पति शुद्धीकरणसम्बन्धी ऐन निर्देशन उल्लङ्घन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ नगद जरिबाना गरिएको हो । यस्तै, एनसीसी बैंक र कुमारी बैंक पनि कारबाहीमा परेका छन् ।













