News Griha :: न्यूजगृह
नयाँ वर्ष २०८० को पहिलो साता ३०.०७ अंकले घट्यो नेप्से

काठमाडौं— नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ ।

गतसाता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट भइ १९०४.४० बिन्दुमा झरेको छ ।

पछिल्लो सातामा भएको ५ कारोबारमध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ । नयाँ वर्ष लागेसँगै बैंकको ब्याजदरको निक्षेपको ब्याज घटेसँगै बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन । गतसाता वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो । साताको पहिलो कारोबार दिन ३ वैशाखमा आइतबार, सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधबार सामान्य अंकले वृद्धि भएको थियो । 

२०८० को पहिलो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको थियो । उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । आइतबार कारोबारमा आएका २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ बिन्दुमा झरेको थियो । नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो । सोमबार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता शेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ बिन्दुमा झरेको थियो । यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । मंगलबार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता शेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । तर, लगातार घट्दै आएको नेप्से बुधबार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो । बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । 

त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै काारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सीमित भएको छ । बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिदाँ पनि शेयर बजारमा खासै प्रभाव पर्न सकेन । अधिकांश बैंकहरूले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेका छन् । 

यससाता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ । गतसाता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:११
Weather Update