News Griha :: न्यूजगृह
ब्राह्मण ‘लुक्स’का आर्यनले सुनाए पुजार सार्कीको कथा

काठमाडौं— अभिनेता आर्यन सिग्देलका पिता पण्डित हुन्। बाबु पण्डित भए पनि आर्यनले बाबुको बिँडो समातेनन्।उनी अभिनयतिर लागे।

भगवान मनमा छन् भन्ने कुरामा विश्वास गर्ने आर्यन धेरै आस्तिक र नास्तिक छैनन्। वास्तविक जीवनमा ब्राह्मण चरित्र नदेखाएका आर्यन ‘पुजार’का रुपमा यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’ मा ब्राह्मण लुक्समा देखिँदैछन्।

‘बुवा पण्डित भए पनि ममा पुजापाठको गुण केही थिएन। म आउट अफ ट्रयाकको मान्छे हुँ। म मनमा भएको भगवान देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु,’ आर्यन भन्छन्।

फिल्ममा आर्यनको ब्राह्मण लुक्स उनकै पिताबाट प्रभावित छ। फिल्मका निर्देशक दिनेश राउत र आर्यन मिल्ने साथी हुन्। कुनै दिन दिनेशले आर्यनको बुबाको एक पुरानो तस्बिर देखेका रहेछन्। फिल्मका लागि पात्रहरुको सेटिङ गर्ने क्रममा दिनेशले आर्यनलाई बुबाको तस्बिर पठाउन भने।

‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुप¥यो। तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। मेरो बुबाको फोटोसँग मेरो लुक्स ट्राई गर्ने बित्तिकै कुरा फाइनल भयो। तर, क्यारेक्टर मेरा लागि नयाँ भएकाले त्यो चरित्र निभाउन गाह्रो भयो,’ उनी भन्छन्, ‘चरित्र मात्र होइन, कास्कीको कास्कीकोटको भाषा सिक्न र बुझ्न पनि झन गाह्रो भएको थियो। यो फिल्म मेरा लागि निकै टफ थियो।’

फिल्ममा आर्यनले दलित समुदायको प्रतिनिधित्व गर्ने अञ्जना बराइलीसँग प्रेम गर्छन्। 

‘एकातिर पुजापाठ, अर्कोतिर प्रेम। दुवै जिम्मेवारी निभाउन निकै चुनौतीपूर्ण थियो। मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यसकारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन,’ पुजार चरित्रबारे आर्यन सुनिए।

आर्यनका लागि पुजार चरित्र चुनौतीपूर्ण लागेको रहेछ। अहिले शिक्षित समाज भनिए पनि जातीयताको विषयमा समाज अझै पनि पछाडि नै रहेको आर्यनका बुझाई छ।

‘कति घटना अहिले पनि घटिरहेका छन्। कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर फिल्म अगाडि बढेको छ,’ उनी भन्छन्।

नेपाली फिल्ममा ‘लभरब्वाई’को छवि बनाएका आर्यन ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने प्रयासमा छन्। ‘हामीले यो धारको फिल्म र मूलधारको फिल्म पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो। दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई फाइदा हुन्छ। राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको फिल्म पनि गर्छु। राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु,’ आर्यन भन्छन्।

अझै पनि फिल्मकर्मीमा आर्यन केवल प्रेमकथाका मात्र फिल्ममा काम गर्न रुचाउँछन् भन्ने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन्। ‘मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरुलाई यो फिल्मले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ,’ आर्यनले दाबी गरे।

आर्यन ‘पुजार सार्की’का विषय सबैले हेर्न आवश्यक रहेको बताउँछन्। ‘३५–४० वर्ष अघि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ। इतिहास बुझ्न ‘पुजार सार्की’ हेर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:१७
Weather Update