
पाल्पा— रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट एक करोड ८७ लाख रुपैयाँ बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा एक करोड आठ लाख चार हजार नौ सय ५० रुपैयाँ आम्दानी र ६८ लाख २२ हजार सात सय १५ रुपैयाँ बराबरको खर्च रहेको जानकारी गराइएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरी मेलाको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट ४० लाख ५२ हजार दुई सय ३५ रुपैयाँ बचत भएको बताए ।
प्रवेश टिकट बिक्रीबाट ४६ लाख ४७ हजार पाँच सय ८० रुपैयाँ, विशेष टिकट बिक्रीबाट ३८ हजार दुई सय ५० रुपैयाँ, स्टल तथा होटलबाट ४१ लाख पाँच हजार रुपैयाँ, प्रायोजक तथा सह प्रयोजकबाट आठ लाख ३६ हजार पाँच सय ५० रुपैयाँ, भलिबल खेलबाट २६ हजार चार सय रुपैयाँ, कृषि ज्ञान केन्द्र पाल्पाबाट ७१ हजार एक सय ७० रुपैयाँ, रामपुर नगरपालिकाबाट १० लाख रुपैयाँ, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकाबाट ५०/५० हजार रुपैयाँ गरी एक करोड आठ लाख ७४ हजार नौ सय ५० रुपैयाँ आम्दानी भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आम्दानी भएको रकममध्ये पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको संघले जनाएको छ । मेलाबाट बचत भएको रकम सङ्घको भवन निर्माण, व्यवस्थित रुपमा कार्यालय सञ्चालन र सङ्घका सदस्यको क्षमता अभिवृद्धिका लागि खर्च गरिने वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।
केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको र लेखा परीक्षणपश्चात् मात्रै खर्च सार्वजनिक गरिएको छ । रामपुरमा गत माघ २७ देखि फागुन ८ गतेसम्म तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला भएको थियो ।













