
काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई टी२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढाएको छ।
क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् ।
उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग समेत पहल भइरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यसअघि नै टी२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन्।
बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट गत बुधबार सफाइ पाएका थिए। यससँगै उनले विश्वकप खेल्ने बाटो खुलेको छ।
सन्दीपले किर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास गरिरहेका छन्। उनलाई विनोद भण्डारीलगायत अन्य खेलाडीले साथ दिएका थिए।
टी२० विश्वकप यही जुन १ देखि सुरु हुँदैछ। यो प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।













