
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताएका छन् ।
शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवादमा अर्थमन्त्री महतले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बताए । मुलुकको आर्थिक वृद्धिदर बढाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
उनले पछिल्लो समय सरकारले सबै आयोजना बनाउने भनेर स्रोत सुनिश्चिता बिना आयोजना घोषणा गर्ने गरेको बताए । सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने उनको भनाइ छ । ‘यहाँ पनि दिन्छु, त्यहाँ पनि दिन्छु भनेर ५० करोडको आयोजनामा पाँच लाख राखेर स्रोतको सुनिश्चितता भयो भन्दिने कुराले हामी फसेका रहेछौँ,’ उनले भने, ‘सानाभन्दा साना आयोजनामा केन्द्रले हात हाल्ने कुरा गलत अभ्यास भयो । आयोजना राख्ने र काम गर्न नसक्ने कुराले हामीलाई थप अलोकप्रिय बनाउँछ । त्यसैले स्रोतले भ्याउने सुनिश्चितता गर्ने पद्धति बसाल्ने प्रयासमा छु । आगामी आर्थिक वर्षदेखि त्यो अभ्यास हुनेछ ।’
अर्थमन्त्री महतले करिव ४ खर्ब रुपैयाँ बराबरका स्रोत सुनिश्चिता नभएका आयोजनाहरू ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताए ।
अर्थमन्त्री महतले बैंकको ब्याजदर कम भएको अवस्थामा ऋण लिएका ऋणीहरूले बैंकको उच्च ब्याजदर भएको बेला कर्जाको किस्ता तिर्न नसक्दा अर्थतन्त्र चलायमान बनाउन समस्या पैदा भएको बताए । उनले बैंकको उच्च ब्याजदर कम गर्ने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको बताए । उनले बैंकको ब्याजदर कम गर्ने विषयमा सरकार राष्ट्र बैंक सकारात्मक रहेको बताए । उनले मौद्रिक नीति र नीतिगत कार्यक्रममार्फत अर्थतन्त्रलाई चलायमान बनाउने बताए । निजी क्षेत्रको आत्मविश्वास फर्काउन पनि आफूले काम गर्ने उनको भनाइ छ ।
अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्नसक्ने क्षमता बढाउने काम गर्ने पनि बताए । उनले सरकारले प्रभावकारिता मूल्याङ्कन गरेर खर्च गर्नुको विकल्प नभएको बताए । उनले अर्थतन्त्र चालयमान बनाउनको लागि नीतिगत हस्तक्षेपको योजना बनाएको बताए ।













