
मुगु — कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल रारामा हाई अल्टिच्युड गल्फ कोर्ट निर्माणका लागि ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि राराको तल्लो मिलिचौरमा हाई अल्टिच्युड गल्फ कोर्ट निर्माण गर्न ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको संघीय सांसद ऐनबहादुर शाहीले बताए।
राराको दिगो विकाससंगै लगानी भित्र्याउन र विश्वका धनाढ्यलाई खेल खेल्न ल्याउने उद्देश्यले हाई अल्टिच्युड गल्फ कोर्टको अवधारणा तय गरिएको उनको भनाइ छ। पर्यटन प्रवर्द्धनको लागि मन्त्रालयले समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा रहेको रारामा पहिलो पटक हाई अल्टिच्युड गल्फ कोर्ट निर्माण गर्न लागेको हो।
रारामा गल्फ कोट निर्माणसंगै ताल वरिपरिको माटो परीक्षण गरेर रंगीन बिरुवा रोपेर रारालाई झन् सुन्दर बनाउन मन्त्रालयको ध्यान जानुपर्ने पर्यटन व्यवसायी पदम न्यौपानेले बताए।













