
काठमाडौं— तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई तथा शुभकामना दिँदै तनहुँको विकासका काममा आफूले सहयोग गर्ने बताएका छन् ।
३४ हजार ९१९ मत ल्याएर विजयी भएका डा.वाग्लेलाई भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् । भट्टराई २० हजार १२२ मतसहित दोस्रो भएका थिए ।
‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई । चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो । र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो,’ भट्टराईले फेसबुकमा लेखेका छन्,‘तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।’
मतदाताका अति ठूलो अपेक्षा र भरोसा रहेकाले पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न पनि उनले वाग्लेलाई आग्रह गरेका छन् ।













